जनता टाइम्स

१ असार २०७६, आईतवार १५:२८

बिरामीको चाप धान्ने जनशक्ति छैन


रोल्पा, असार १

सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ । सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।

“घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगेँ । त्यसपछि करीब १८ मिनेट अटोरिक्सामा चढी अस्पताल पुगियो । नाम लेख्नेको लाइन लामो थियो । नाम लेख्ने मान्छे पनि नभएकाले अस्पतालकै गाडी चालकले नाम लेख्दै थिए । धेरै समय लाइनमा बसेँ, अनि बल्लतल्ल नाम लेखाएँ”, एक महीना पहिले खुट्टा भाँच्चिएकी एक महिलाको पीडा हो यो ।

“अस्पताल आएको करीब आठ घण्टापछि मात्र कार्यालय सहयोगीले प्लास्टर खोलिदिए”, रोल्पा नगरपालिका– १० धबाङ भुमकी मनकुमारी वलीले भन्नुभयो । नुहाउने क्रममा दुवै कानमा पानी पसेर सुन्न नसक्ने भएपछि रोल्पा नगरपालिका–५ घापाकी रामपुरा पुन जिल्ला अस्पताल रेउघामा आउनुभयो । कानको ड्रेसिङ गर्नका लागि उनी बिहान ११ बजेदेखि लाइनमा बस्नुभयो ।

कानको ड्रेसिङ गर्ने चिकित्सकको अभावमा दिउँसो ३ बजे मात्र ड्रेसिङ गरिदिएको उहाँले बताउनुभयो । पछिल्लो समयमा जिल्ला अस्पताल रोल्पामा बिरामीको चाप अत्यधिक बढेको छ । तर दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् ।

‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका निमित्त प्रमुख डा. धनमाया घर्तीले भन्नुभयो, ‘रोल्पाको जिल्ला अस्पतालमा लामो समयदेखि यो स्थायी समस्याजस्तै भएको छ।’ दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई अन्यन्त्र जान सिफारिस गर्न बाध्य रहेको घर्तीले बताउनुभयो ।

दैनिक १०० भन्दा बढी बिरामी सेवा लिन आउने यो अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा पर्ने गरेको डा घर्तीले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना हुँदा होस् वा स्थानीय सरकारले आयोजना गरेको शिविर नै किन नहोस्, त्यसका लागि यो अस्पतालबाट चिकित्सक पठाउनुपर्ने हुन्छ । कहिलेकाहीँ अस्पतालमा एक मात्र चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनको भनाइ छ ।

योसँगै अस्पतालमा कार्यरत चिकित्सक अध्ययन तथा घरबिदामा बस्दा बिरामीको नाम दर्ता, रसिद काट्ने, नाम वाचन, औषधि वितरणसमेत चिकित्सक आफैँले गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा. प्रकाशबहादुर बुढाले बताउनुभयो ।

हिजोआज झाडापखला, भाइरल ज्वरो, रुघाखोकीका बिरामीको चाप अत्यधिक रहेकाले पनि चिकित्सकको अभावमा अन्य बिरामीको उपचार प्रभावित हुने गरेको चिकित्सकको भनाइ छ ।

अस्पताल आफैं बिरामी

जिल्लाको १५ शय्याको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । लामो समयदेखि अस्पतालको व्यावस्थापन सुधार नभएपछि सेवाग्रही बिरामी अन्यत्र जाने गरेका छन् । अस्पतालमा गर्भवती जाँच र गम्भीर किसिमको सुत्केरीलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्दा प्रयोगशाला र ल्याब असिस्टेन्ट कर्मचारी छैन ।

दरबन्दीअनुसारको चिकित्सक र प्राविधिक नहुनुले यो समस्या बल्झेको उहाँले बताउनुभयो । अस्पतालका मेडिकल अधिकृत डा. प्रकाशबहादुर बुढाका अनुसार दुई मेडिकल अधिकृत, चार नर्स, तीन अहेव, दुई अनमी, चार स्टाफनर्स र दुई ल्याव टेक्नीसियनको दरबन्दी छ । अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारमा छन् ।

‘करारमा आउनेलाई टिक्न पनि समस्या छ,’ उहाँले भन्नुभयो, ‘आकस्मिक सेवा नपाएपछि सेवाग्रहीले चित्सिकलाई दुव्र्यवहार पनि गर्ने गर्छन् ।’ त्यस्तो अवस्थामा चिकित्सकलाई टिक्न समस्या हुन्छ । गर्भवती जाँच, सुत्केरी र शल्यक्रिया सेवा भए पनि उपकरण र जनशक्ति अभावले प्रभावकारी हुन सकेको छैन् ।

करार दरबन्दीमा रहेका चिकित्सक पनि शिविर, घर बिदा, अध्ययन बिदा, तालीम, प्रशिक्षणमा हिँड्दा अस्पतालमा बस्ने चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुको गुनासो छ । चिकित्सक अभावकै कारण ल्यावको रिपोर्ट दिउँसो ३ बजे पछाडि मात्र निकाल्नुपर्ने बाध्यता छ, जसले गर्दा बिरामी लामो समय कुर्नुपर्ने हुन्छ ।

हाल १५ श्ययाको जिल्ला अस्पतालमा बिरामीको चापअनुसार दरबन्दी सिर्जना नहुँदा बिरामीले कुर्नुपर्ने बाध्यता र चिकित्सकले हतारहतारमा सबै काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

५० श्ययाको बनाउन प्रयास

जिल्ला अस्पताल ५० श्ययाको बनाउने प्रयास गरिएको छ । तीन वर्षका लागि नयाँ भवन निमार्ण कार्य सकिसक्ने गरी सम्झौता गरिए पनि कामको गति नै अति सुस्त छ । जसले निर्धारित समयमा भवन निर्माणकार्य सकिनेमा पनि शङ्का छ । हाल कर्मचारी समायोजन प्रक्रियाले पनि अस्पतालमा भएका केही कर्मचारीलाई अन्यत्र सरुवा गरिदिएकाले समस्या झन् विकराल बन्न थालेको छ ।

अस्पतालबाट प्रभावकारी सेवाप्रवाह गर्नका लागि केन्द्रसम्म आफूहरुले पहल थाले पनि कतैबाट सुनुवाइ नभएको अस्पतालका एक चिकित्सकले बताउनुभयो । अब भने जिल्ला अस्पताल रोल्पामा बिरामीको चापअनुसार सेवा प्रभावकारी बनाउनका लागि अस्पताल तुरुन्त ५० श्ययाको हुनुपर्ने र चिकित्सकको दरबन्दी तत्काल थप्नुपर्ने आवश्यक देखिएको छ ।

सरकारले सरकारी अस्पतालबाट ७२ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि सेवाग्रहीले पाउन सकेका छैनन् । जिल्ला अस्पताल रोल्पामा लामो समयदेखि औषधिसमेत अभाव छ । निःशुल्क भनिएकोमध्ये मुस्किलले ३० प्रकारको औषधि उपलब्ध छ ।