जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १७:१०

नेपालमा आज २५६८ मा कोरोना संक्रमण पुष्टि, देशभर ३१,२९८ सक्रिय संक्रमित


काठमाडौं, साउन १७ । नेपालमा आज २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १९८१ जना र एन्टिजेन परीक्षणबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ स्वाव परीक्षण भएको थियो, जसमा पीसीआर परीक्षण ८ हजार ४०२ र एन्टिजेन परीक्षण ४ हजार २३४ भएको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २०२० जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १८ जनाले ज्यान गुमाउनुभएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५९४ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा १६६ जना नयाँ संक्रमित फेला परेका हुन् ।

नेपालमा आजको तथ्यांकसँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।