काठमाडौं, साउन १७ । नेकपा एमालेले आगामी २०७८ भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले बिधान महाधिवेशनको तिथि तय गर्दै अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल र नेता रामबहादुर थापा बादल नेतृत्वको चार ओटा कार्यदल गठन गरेको छ ।
‘स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यसरी नै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र कमरेड रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवाली ले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।
ज्ञवालीका अनुसार चारओटै प्रस्तावहरुलाई अन्तिम रुप दिन र यस सम्बन्धमा अन्य आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने छ । बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।
यस्तो छ बिज्ञप्ती
नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बस्यो । बैठकले यही २०७८ भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यसरी नै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र कमरेड रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । उपरोक्त प्रस्तावहरुलाई अन्तिम रुप दिन र यस सम्बन्धमा अन्य आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने छ ।
बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्