जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १५:३८

सबै परीक्षा स्थगन गर्ने सरकारको तयारी


काठमाडौं, साउन १८ । सरकारले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने भएको छ । आज भर्चुअल रूपमा गरिएको पत्रकार सम्मेलनमा ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उहाँले सुनाउनुभयो । उहाँले सामाजिक सञ्जालमा ट्विट गर्दै ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ भन्नुभएको छ ।

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो । कक्षा १२ का विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णाङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो। यसअघि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो।