जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १६:४५

कांग्रेस-माओवादीको अर्काे किर्ते काण्ड : एमाले सांसद विमला वलीको हस्ताक्षर चोरी गरेको पुष्टि (पत्रसहित)


काठमाडौं, साउन १८ । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष ४१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनको दावी गर्दा वलीको नाम पनि समावेश गरिएपछि उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले आफू एमालेमै रहेको र मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको पनि प्रष्ट पार्नुभएको छ ।

‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशिल हुँदैगर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको म प्रति गुनासा हुनु स्वाभाविकै थियो। ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु।’ उहाँले विज्ञप्तीमा भन्नुभएको छ ,‘मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकोले एमाले छाडेर माओबादी रोज्ने कुरा।

पनि कानुनी रुपमा ठीक नभएकोले एमालेमै रहेको स्पष्ट पार्दछु।’ त्यस्तै उनले केही समयदेखि स्वास्थ्यमा समस्या आएकाले बाहिर सम्पर्क नहुँदा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका विभिन्न खाले टिप्पणीप्रति गंभीर ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभएको छ । प्रदेशसभा सदस्य वली सूर्य चिन्ह लिएर तत्कालीन नेकपाबाट ०७६ सालमा भएको उपचुनावमा निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । २०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उहाँका पति उत्तरकुमार ओली एमालेबाट निर्वाचित हुनुभएको थियो तर पछि उहाँको सवारी दुर्घटनामा मृत्यु भएको थियो। यसअघि उहाँलाई माओवादीमा लागेको हल्ला चलाईएको थियो ।