जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १७:४२

सत्तारुढलाई आनन्द पोखरेलको चेतावनी : केपी ओलीमुक्त नेपालको सपना नदेख (भिडियोसहित)


काठमाडौं, साउन १८ । एमाले नेता आनन्दप्रसाद पोखरेलले सत्तारुढ गठबन्धनलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिनुभएको छ । काठमाडौंमा आज आयोजित सात्क्षात्कारमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका एमाले बागमति अध्यक्ष पोखरेलले यतो चेतावनी दिनुभएको हो ।

‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईंहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहानु हुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ,’ पोखरेलले भन्नुभयो । नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिनुभयो । ‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । संक्रमणकालिन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारणपनि छ, अर्को बाह्य शक्तिको पनि हात छ । र, न्यायालयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ,’ पोखरेलले भन्नुभयो ।

उहाँले सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरेपनि त्यो उनीहरुको पराजित मानसिकता भएको ठोकुवा गर्नुभयो । पोखरेलले आफूहरु केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको भन्दै मैदानमा खुला रुपमा आउन सुझाउनु भयो । केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौं भनेर सोचेकाहरुले केपी ओली दोस्रो पटक मृर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको निश्कर्ष पनि पोखरेलले सुनाउनु भयो ।

कार्यक्रममा पोखरेलले आफूहरु निर्वाचनको पक्षमा रहेकोले जहिल्यै पनि निर्वाचनमा जान तयार रहेको प्रष्ट पार्नुभयो । ‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरु आज यिनीहरुले निर्वाचन गर्छन जस्तो मलाई चाहीँ लाग्दैन,’ पोखरेलले भन्नुभयो । उहाँले सत्तापक्षीय गठबन्धनले निर्वाचन गराउनु भन्दा पनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जाने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ, सक्ने भए १० बर्ष यसरी नै खानुहुन्छ ।’ उहाँले चुनाव त आफूहरुको माग भएको बताउनु भयो । कांग्रेस, माओवादी केन्द्र र जसपालगायतको गठबन्धनलाई कथित गठबन्धनको संज्ञा दिँदै यसले निर्वाचन गराउनेतिर ध्यान नदिने ठोकुवा पनि उहाँले गर्नुभयो ।

उनले केपी ओली नेतृत्वको सरकार त चुनावमाफर्त आएको उल्लेख गर्दै प्रतिक्रान्तिवादीहरुले जनताबाट निर्वाचित भएर आएको सरकार बनेकै दिनदेखि ढाल्न षड्यन्त्र गरेको कथा सुनाउनु भयो । ओली सरकार ढाल्नको लागि धेरै प्रयत्न गर्दा पनि नसकेपछि अन्तिममा न्यायालयलाई प्रयोग गरेर ढालेको उहाँको ठोकुवा थियो । ‘एक किसिमले यो कू नै हो । षड्यन्त्रमूलक सत्ताच्यूत हो,’ पोखरेलले भन्नुभयो । पोखरेलले एमालेभित्रको अन्तरकल समाधानको लागि अहिले प्रयास भइरहेको बताउनु भयो । आफूहरुको नवौं महाधिवेशनको दस्तावेजमै कांग्रेस प्रतिष्पर्धी पार्टी उल्लेख गरिएकोमा माधव नेपाल समूहले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनको लागि भूमिका खेल्नु पार्टी हित र कम्युनिष्ट आचरण बाहिरको कुरा भएको पनि पोखरेलको भनाई छ । पोखरेलले भन्नुभयो, ‘माधव नेपालहरुको कदम सरासर धोका हो । गद्दारी हो ।’

उहाँले आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि दोस्रो अध्यक्ष पनि दिन तयार भएको तर, नेपालले भने अध्यक्ष पनि लिन नमानेको बताउनु भयो । उहाँले माधव नेपाल समूह सरकारमा जाने कुरामा आफूलाई विश्वास नभएको बताउनु भयो । ‘मलाई विश्वास छ, उहाँहरु सरकारमा जानुहुन्न । जानुभयो भने त्यही दिन कुरा गरौंला,’ पोखरेलले भन्नुभयो ।