जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार २२:१६

अमेरिका सेनाको ’अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ


काठमाडौं, १८ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताउनुभएको छ ।

“हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,” उहाँले अफगान संसदमा भन्नुभयो । उहाँले वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिनुभएको टोलो न्युजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने कुरा बताउनुभयो ।

घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गर्नुभएको छ । उहाँले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताउनुभयो । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यवद्धताको समय भएको बताउनुभयो ।

तालिवानतर्फ सङ्केत गर्दै राष्ट्रपति घानीले भन्नुभयो, “अफगानीहरूबीचको शत्रुता गम्भीर बिषय हो । अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।”

उहाँले थप्नुभयो, तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएका छन् । “वास्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौं । हामीले आन्तरिक र बाह्य अफवाहको सामना गरिरहेका छौं ।”

घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिबानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेका समय आएको छ । अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी रहेको थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दावी गरेको छ ।

यसैबीच तालिवान प्रभावित इलाका लस्करघामा नेटो सैनिकको हवाइ आक्रमणमा कम्तीमा सात तालिवानी लडाकू र तालिवानका ३८ सहयोगी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले बताएको छ । तालिवान समूहले आइतबार हेलमण्ड प्रान्तको लस्करघास्थित एउटा जेलमा असफल आक्रमण गरेका थिए ।