जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १४:२२

एनआरएनएको ६० देशमा सकियो निर्वाचन (सूचीसहित)


काठमाडौं, साउन २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालसम्म ६० देशमा निर्वाचन सम्पन्न भएको जनाएको छ । संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि  निर्वाचन सम्पन्न भएको हो । विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् रहेका छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समयदेखि निष्क्रिय रहेको महासचिव शर्माले बिज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

शर्माका अनुसार निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचित भएका छन भने ११ वटा राष्ट्रिय समन्वय परिषदमा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषदमा निर्वाचन हुन बाँकी रहेको छ । 

महासचिव शर्माका अनुसार यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको उनको भनाइ छ । यस्तै डेनमार्कको निर्वाचन यही ७ अगष्टमा,  पोर्चुगलमा ८ अगष्ट र  स्लोभानियामा १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेको महासचिव शर्माले बताउनु भएको  छ । संघको आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको विधानमा व्यवस्था भए बमोजिम पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको  बताउँदै शर्माले प्रतिनिधि चयन संघको विधान अनुरुप गर्न गराउन यसअघि नै आग्रह गरिएको बताउनु भएको छ ।

यी हुन राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धि विवरण

१ अफ्रिका क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया

२ अमेरिकाज क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका

अनलाइन : चिली र अमेरिका

भौतिक : क्यानाडा

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः लेसोथो, लिविया, मालावी, दक्षिण सुडान

३ एसिया प्रशान्त क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।

अनलाइन : चीन, जापान र दक्षिण कोरिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु :  ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया

४ यूरोप क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड

अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके

भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस, पोल्याण्ड र पोर्चुगल

निष्क्रिय राष्ट्रिय समन्वय परिषदहरुः ब्राजिल

५ मध्यपूर्व क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार

अनलाइन : बहराइन र साउदी अरेबिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरुः इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन

६ ओसेनिया क्षेत्र

सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड

अनलाइन : अष्ट्रेलिया

निष्क्रिय राष्ट्रिय समन्वय परिषद्ः भानुआटु