दाङ, साउन २२ । लामो समय पालिएको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले दाहसंस्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पाले। भाले साउन १६ गते मरेको थियो। भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताउनुभयो । ‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उहाँले भन्नुभयो , ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको समेत बताउनुभयो ।
हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘कपाल खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाजसमेत भावुक बनेको छ । भाले २० वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीले बताउनुभयो । यसले पशुपक्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएकोसमेत उहाँले बताउनुभयो ।
यसरी मिल्यो भाले पाल्ने प्रेरणा
सुवेदीमा लामो समय भाले पाल्ने कुनै योजना पनि थिएन। उहाँका बुबा ‘रिटायर्ड’ सरकारी शिक्षक हुनुहुन्छ। बुबाको पेन्सन घरमै आएर दिने शिक्षक थिए, घोराहीका डेमकान्त अधिकारी। तिनै अधिकारीलाई खुवाउन त्यो भाले पालिएको थियो। तर, त्यो भाले पालेको पाँच–सात वर्षसम्म पनि अधिकारीलाई खुवाउने कुनै अवसर परेन। त्यति वेलासम्म भाले १४ वर्ष पुगिसकेको थियो। भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उहाँले भालेलाई जति बाँच्छ, त्यति पाल्ने निधो गर्नुभयो ।
भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जालमा चर्चा पायो। त्यही बखत उहाँले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने पनि योजना बनाउनुभयो । ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ,’ उहाँले भन्नुभयो , ‘तर, धेरैले खर्चिलो हुन्छ, सकिँदैन भनेपछि त्यो प्रक्रिया नै अगाडि बढाउन पाइनँ।’
भालेकै कारण सुवेदी पनि चिनिनुभयो। झन्डै २० वर्षमा सुवेदीले घरमा पालेका थुप्रै कुखुरा जन्मिए, हुर्किए, कति बेचे र कति रोगले मरे। उनीहरूका बारे सुवेदीले खासै वास्ता गर्नुभएन। तर, घरको सबैभन्दा बुढो भाले भने कहिल्यै रोगले थलिएन। गाउँमा रोग लागेर सबैका कुखुराहरू धेरै पटक स्वाहा भए। असार महिनामा मात्रै सुवेदीले घरमा पालेकामध्ये ४१ वटा कुखुरा रोगले मरे। तर त्यो बुढो भालेलाई रोग लागेन।
‘त्यो भाले खुर्सानी धेरै खान्थ्यो। सायद उसको रोग प्रतिरोधी क्षमता बढ्यो कि,’ सुवेदीले भन्नुभयो , ‘मैले सुनेको छु, खुर्सानीले एन्टिबायोटिकको काम गर्छ रे’ असारमा ४१ वटा कुखुरा मरेपछि बचेको त्यो एउटै बुढो भाले पनि मरेपछि अब सुवेदीको घरमा एउटा पनि कुखुरा बचेका छैनन्। ‘गाउँ–घरमा बस्ने म भविष्यमा फेरि पनि अवश्य कुखुरा पाल्छु नै,’ सुवेदीले भन्नुभयो , ‘तर, अब त्यति वर्षसम्म भाले पाल्न सम्भव होलाजस्तो मलाई लाग्दैन।’
प्रतिक्रिया दिनुहोस्