जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १८:५८

राष्ट्रपतिद्वारा महिला चिकित्सक सम्मानित, यी हुन सम्मानित हुने महिला चिकित्सक


काठमाडौं, साउन २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक संघले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यान्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले सबै नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व भएको बताउनुभयो । कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँरनयाँ प्रजातिको भाइरस देखापरेको भन्दै उहाँले भन्नुभयो, ‘कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।’

आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सिमित हुनुपर्ने अवस्था अझै रहेको भन्दै राष्ट्रपति भण्डारीले थोरै संख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको समेत बताउनुभयो । उहाँले थप्नुभयो,‘यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनी हो, महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि प्रर्याप्त छैन । अझ सुधार गर्नुपर्दछ ।’

उहाँले स्वास्थ्य कार्यक्षेत्रमा लागि नेपालको दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्याएको महिला चिकित्सकलाई धन्यवादसमेत दिनुभयो । कमजोर पहुँचका कारण नेपाली महिलाले धेरै समस्या झेल्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मातृशिशु, कुपोषण, रक्तअल्पता, घर परिवारमा अन्य सदस्य बिरामी पर्दा वहन गर्नुपर्ने जिम्मेवारीजस्ता कारणले महिला स्वास्थ्यमा विशेष प्राथमिकतापूर्ण व्यवहार आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिलाको क्षमता अभिवृद्धि, पेशागत र दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता र भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याएका महिला चिकित्सकको सम्मान गरिएको बताउनुभयो । संघका पूर्वअध्यक्ष डा. सुधा शर्माले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा अग्रपङक्तिमा महिला स्वास्थ्यकर्मीले नै रहेको बताउनुभयो । त्यस्तै संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको संयोजकत्वमा सम्मान छनौट समिति गठन गरिएको थियो ।

संघले राष्ट्रपति निवासमा आयोजना गरेको शितलनिवासको सम्मान कार्यक्रममा विभिन्न महिला चिकित्सहरुलाई राष्ट्रपति भण्डारीद्वारा सम्मान गरिएको थियो । जसमा डा. दिब्यासिंह शाह, डा. रिता थापा, डा. सरस्वती उपाध्याय, डा. सुधा शर्मा, डा. कुशुम थापा, डा. किरण थापा, डा. आशा सिंह, डा. संगिता भण्डारी, डा. चन्द्रा कार्की, डा. सानुमैया दलि, डा. सुधा अग्रवाल, डा. तारा मानन्धर, डा. राधा शाह र डा. अर्चना वैद्य हुनुहुन्थ्यो ।