जनता टाइम्स

२ असार २०७६, सोमबार ०७:५०

विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित


 

एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ ।

म्यानचेस्टरमा आइतबार भएको बहुचर्चित खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।

वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले । उनले १ सय १३ बलमा १४ चौका र ३ छक्काको मदतले शतकिय ईनिङ्स खेलेका थिए ।

उनले पहिलो विकेटका लागि लोकेश राहुलसंग १ सय ३६ रनको साझेदारी गरे । अर्धशतक बनाएका राहुल ५७ रन बनाएर आउट भए ।

यस्तै कप्तान विराट कोहलीले ७७ रनको अर्धशतकीय इनिङ्स बनाए । उनले ६५ बलमा ७ चौकाको मदतले भारतीय ईनिङ्स उकासेका थिए । त्यस्तै हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भए । विजय शंकर १५ र केदार जादव ९ रनमा नटआउट रहे ।

पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए । यस्तै हसन अलि र वहाव रियाजले समान १(१ विकेट हात पारे ।

जितसंगै भारतले ४ खेलबाट ७ अंक जोडेको छ । तेस्रो स्थानको भारतले ३ खेलमा जित र १ खेलमा अंक पाएको थियो ।