काठमाडौं, साउन २५ । कांग्रेस नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको हो ।
‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?’, थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ, ‘यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्नुपर्यो।’
सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षा जारी रहेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको थियो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदै छ । उसो त ट्वीटरलगायतका सामाजिक सञ्जालमा समेत त्रिविको परीक्षा स्थगितको माग गर्दै अभियान चलाइएको छ ।














प्रतिक्रिया दिनुहोस्