जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार १९:५५

‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै विद्यार्थीको प्रदर्शन


काठमाडौं, साउन २६ । विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीले काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रदर्शन गरेका छन्।परीक्षा दिन गएका विद्यार्थीले आज क्याम्पसको गेटबाहिर प्रदर्शन गरेका हुन्। उनीहरूले केहीबेर गेटबाहिर सडकमा धर्ना पनि दिएका थिए।

आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा थियो । उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीले भौतिक उपस्थितिमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकोले परीक्षा सार्न माग गरिरहे पनि त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ।

सरकारले कक्षा १२ को परीक्षा भने क्यान्सिल गरेको छ । कोरोना संक्रमण बढेको कारण देखाइ साउन ३१ देखि भदौ ९ सम्म हुने कक्षा १२ को परीक्षा स्थगित भए पनि कक्षा ११ र त्रिविलगायत विभिन्न विश्वविद्यालयले भने परीक्षा भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर सञ्चालन गरिरहेका छन्।