काबुल, ३२ साउन । देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गर्नुभएको छ । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उहाँको जिकिर छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको सम्मान, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गर्नुभएको छ । देश छोडेपछि पहिलो टिप्पणीमा उहाँले भन्नुभएको छ , ‘तरबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’ घानी थप भन्नुभयो ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’ ‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उहाँ थप्नुभयो । आफू कहाँ छु भन्ने घानीले खुलाउनुभएको छैन । तर, धेरै सञ्चारमाध्यमका अनुसार उहाँ ताजीकिस्तानमा रहेको विश्वास गरिएको छ ।
रक्तपात निम्त्याउन चाहिनँ त्यसैले देश छोडे,अब अफगानिस्तान तालिवानको जिम्मामा –राष्ट्रपति घानी

प्रतिक्रिया दिनुहोस्