जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार २२:४७

खुलामञ्च खुला भयो, अब माइतीघरमा हुने धर्ना–जुलस रोक्न चाहान्छौं : मेयर शाक्य


काठमाडौं, साउन ३२ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेको बताउनुभएको हो । दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि सहमति दिएको स्मरण गर्दै उहाँले अब त्यो हटेर खुलामञ्च खाली भएको बताउनुभएको हो । शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलाई निरन्तरता दिएको बताउनुभयो ।

विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्वोधनका लागि सडकमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावतनै अस्तव्यस्थ भई थप भिडभाड बढ्ने र अन्तर्राष्ट्रिय यात्रुहरुलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौँ,’ शाक्यले भन्नुभयो । खुलामञ्च व्यवस्थापनसँगै माइतीघर, बानेश्वर, दरवारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेको बताउनुभयो । ‘खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारी स्थलको रूपमा विकास गर्ने योजनामा हामी छौँ,’ शाक्यले भन्नुभयो ।

पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि स्मरण गराउनुभयो । शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।