जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार ०६:२४

चीनले भन्यो – हामी तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहान्छौं



काठमाडौं, भदौ १ । अफगानिस्तानको राजधानी काबुलमाथि तालिबानले नियन्त्रण लिएपछि चीनले सोमवार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहेको बताएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले संवाददातासँग भन्नुभयो, ‘अफगान नागरिक आफ्नो भविष्यको फैसला आफैँ गरून्, चीन उनीहरूको यो हकको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्धको विकास गर्न इच्छुक छ ।’

यसअघि चीनले आफगानिस्तानमा आफ्नो दूतावास खुलै राख्ने सङ्केत दिएको थियो ।

चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै रहन स्थितिको बारेमा सजग रहन आग्रह गरेको छ ।

यसका साथै चीनले ‘अफगानिस्तानमा भिन्न गुट’ सँग आफ्ना नागरिकको सुरक्षा सुरक्षित गर्न पनि भनेको छ । तालिबानका प्रतिनिधि गएको जुलाईमा चीन गएका थिए र उनीहरूले चिनियाँ विदेश मन्त्री वांग यीसँग भेट गरेका थिए ।

त्यस समय यस भेटलाई राजनीतिक शक्तिको रूपमा तालिबानको अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने बताएको थियो ।