जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार ०८:२१

अफगानी राष्ट्रपति घानीलाई यूएईले शरण दियो


काठमाडौँ, ३ भदौ । अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएलगत्तै देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।

अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै घानीको आलोचना पनि भइरहेको छ । तर मुलुकमा ठूलो रक्तपात हुनबाट जोगाउन आफुले देश छाडेको घानीले जिकिर गरेका छन । भारी मात्रामा पैसा बोकेर देश छाडेको भन्ने आरोपको खण्डन गर्दै घानीले भने, ‘यो आरोप सरासर झुटो हो । आधारहीन हो ।’ पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति बनेका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हालेको बिबिसीले जनाएको छ ।