जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १६:५७

आज संक्रमितभन्दा निको हुने धेरै, २४ जनाले गुमाए ज्यान


काठमाडौं, भदौ ६ । नेपालमा आज थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ सङ्क्रमित निको भएका छन् ।

हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ । बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप २४ सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा मात्र ५६६ जनामा संक्रमण पुष्टि

आज काठमाडौं उपत्यकामा मात्र कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।