जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १८:२२

चुनाव लक्षित गतिविधि बढाउन एमाले महासचिव पोखरेलको निर्देशन


काठमाडौं, भदौ ६ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले महाधिवेशन र स्थानीय चुनावलाई लक्षित गरेर वडातहसम्म गतिविधि सञ्चालन गर्न कार्यकर्तापंक्तिलाई निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब सबै नेता, कार्यकर्ता तल्लो तहसम्म महाधिवेशन र स्थानीय चुनावमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले माधव नेपालको माओवादीकरण र जसरी पनि एमाले सिध्याउने उद्देश्य रहेका कारण एउटा सानो समूह पार्टीमा अटाउन नसकेर बाहिरिएको बताउनुभयो । पार्टी आमरूपमा एकढिक्का रहने र १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने पनि उहाँले सुनाउनुभयो । एमालेको दशौं महाधिवेशन र स्थानीय चुनावलाई केन्द्रित गरिने र पार्टी अझ बलियो बन्ने र लाखौं–लाख नयाँ व्यक्तिहरु पार्टीमा थपिने विश्वास लिनुभयो ।

महाधिवेशनका लागि प्रस्तावित विधान मस्यौदामा सुझाव संकलन गर्न आयोजित भेलामा क्षेत्रीय संयोजक तथा प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायत जिल्ला र नगर कमिटीका पदाधिकारीहरूको सहभागिता थियो । भेलामा केन्द्रीय सदस्य तथा काठमाडौं सह–इन्चार्ज नारायण सिलवाल र दीपक निरौलाले सदस्यता विवरण, नवीकरण र स्थानीय तहका निर्वाचनलक्षित कार्यक्रम अघि बढाइने बताउनुभयो ।