जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १२:५३

दिपाश्रीले खोलिन पूर्वप्रेमीलाई छाडनुको रहष्य


काठमाडौं, भदौ ७ । दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्नुहुनछ । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा पाइला अघि बढाउनु भएको हो । यसअघि उनी ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा हुनुहुन्थ्यो ।

डेब्यु फिल्ममै उहाँले सफलता पाउनुभयो । त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ ले पनि सफलताको रेकर्ड बनाउँदै गए । नेपाली फिल्मको बजार तताउने श्रेय दीपासहित दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतको टिमलाई जान्छ । ०५४ मा पहिलोपटक फिल्ममा अभिनय गर्नुभएकी दीपालाई ‘गाउँले’ चलचित्रमा समावेश गीत ‘गोली सिसाको…’ ले दिलाएको हो । उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुल्नुभयो । सो चलचित्र २०५५ तिर रिलिज भएको थियो ।

दीपाले यो सफलता सजिलै भने पाउनु भएको होइन । विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमाडौंमा धेरै संघर्ष गर्नुभएको छ । ०५० सालतिर उहाँको भेट दीपकसँग भएको हो । रेडियो नेपालमा कामका लागि पुगेकी दीपाले त्यहीँ प्रांगण दीपकलाई पहिलोपटक भेटनुभएको थियो । त्यसपछि यी उहाँहरुको सहकार्यको सुरुवात भयो । ‘दीपकलाई धनिया क्यारेक्टर चाहिएको रहेछ र म तराईको भएकाले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं,’ दीपाले भन्नुभयो, त्यही सहकार्यले तीतो–सत्य हुँदै ठूलो पर्दाको चलचित्रसम्म निरन्तरता पायो ।

तर, पनि चाडवाडमा दीपाले आफूलाई कहिलेकाहीँ एक्लो महसुस गर्नुहुन्छ । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन्, म एक्लै हुन्छु त्यसैले आममान्छे झैँ मलाई पनि फिल हुनु स्वाभाविक नै हो,’ दीपाले भन्नुभयो । तर, पछिल्लो समय उहाँले आफ्नो जिम्मेवारीलाई अझ अगाडि बढाउनु भएको छ । दर्शकको विश्वासले गर्दा उहाँ झन् बढी मेहनती हुनुभएको छ ।

किन एक्लै छिन् त ? दिपा भन्नुहुन्छ, ‘सायद म करियरमा बढी फोकस भएँ । प्रेम पनि बसेको थियो, तर मैले त्यो समयमा करियरलाई नै रोजे । किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।’ दिपाको पहिलो प्रेम त बस्यो, तर करियर बाधक बन्यो । किनकि उहाँ फिल्मनगरीमा आफूलाई देख्न चाहनुहुन्थ्यो तर उहाँको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाई प्रयास गर्न देऊ भनेकी थिएँ । किनकि म आफ्नो सपनालाई एकपटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर, उसले मलाई १–२ वर्ष पनि कुर्न सकेन । उसको आफ्नै बाध्यता थियो, मेरो आफ्नै,’ दीपाले भन्नुभयो ।

उहाँले प्रेमीसँग केही समय माग्नुभएको थियो तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमाबुबा विरामीलगायतका दायित्वका कारण त्यतिबेला जोडी सम्भव नभएको दीपाको भनाइ छ । तर, पनि पहिलो प्रेम अझै दिपालाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ, तर भेटघाट हुँदैन,’ दिपाले भन्नुभयो । भेटघाटले सामीप्यता बढाउने भएकाले त्यसो नगरेको उहाँको भनाइ छ ।

दीपाश्रीले विवाह गर्ने मनसाय नबनाएको होयन, तर अहिलेसम्म जुरेको छैन । ‘मेरो परिवारलाई पनि मेरो विवाह हेर्ने रहर छ, तर कहिले हुन्छ भन्न सकिन्न,’ उहाँले भन्नुभयो, । उहाँले दायित्व नभएकै कारण आफूले सफलता प्राप्त गरेको पनि बताउनुभयो । ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । अरु केही सोच्नुपरेको छैन, त्यसैले मेहनतको सफलता पाएकी छु,’ दिपाको भनाई छ ।

जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको उहाँको भनाइ छ । जोसँगको सहकार्यले उहाँले आफ्नो सपनालाई मूर्तरुप दिन सफल हुनुभएको छ । ‘हाम्रो बीचमा माया छ, तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ, अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन, तर हाम्रो मित्रता निकै माथि छ,’ दीपाले भन्नुभयो । यिनै दीपाले आज आफ्नो जन्मोत्सव मनाउँदै हुनुहुन्छ । आजदेखि दिपा ४६ वर्षमा प्रवेश गर्नुभएको छ ।

(कुराकानीमा आधारित, न्यूज कारखाना)