जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १९:५९

बक्सिङमा नेपाललाई ऐतिहासिक सफलता


काठमाडौं, भदौ ७ । दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गर्नुभएको छ । शेर्पाले क्वार्टर फाइनलमा प्रतिद्वन्द्वी कुवेतका मोहमद्लाई पराजित गर्नुभएको हो ।

अब छिरिङ्गले कजकिस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुहुनेछ । यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुहअन्तर्गत नेपाललाई कास्य पदक पक्का गर्नुभएको छ । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ जनाले कास्य पक्का गर्नुभएको हो ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनारले पनि बहादुरीका साथ इरानी प्रतिद्वन्द्वीलाई पहिलो राउण्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी शुरुवात गर्नुभयो । तर दोस्रो र तेस्रो राउण्डमा इरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा पार्दै इन्द्रलाई रोक्न सफल भए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरीयतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित हुनुभयो । अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समुहमा इरानी प्रतिद्वन्द्वी अलियस्घसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।