काठमाडौं, भदौ ८ । नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल दर्ताको तयारीमा रहनुभएका माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीसँगै जनताको बहुदलीय जनवाद (जवज) पनि त्याग्नुभएको छ । नयाँ दल दर्ताका लागि बिधानलाई अन्तिम रुप दिने बैठकमा बरिष्ठ नेता झलनाथ खनालले आफूहरुले जवज त्यागेको सार्वजनिक घोषणा गर्नुभएको हो ।
निर्वाचन आयोगले दल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न बोलाएको अघिल्लो दिन माधव समुहको बैठकलाई भर्चुअल संबोधन गर्दै नेता खनालले जवजको युग सकिएको भन्दै एमाले त्यागेसँगै जवज पनि त्यागेको प्रष्ट पार्नुभएको हो । मिर्गौला प्रत्यारोपण गर्न दिल्ली जानुभएका खनाल माधव नेतृत्वको नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेताका रुपमा आयोगमा नाम बुझाइएको छ ।
चन्द्रागिरी रिसोर्टमा बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै खनालले भन्नुभयो, ‘अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युगअनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’ खनालको यो घोषणा माधवसँगको टेलिफोन संवादपछि आएको हो ।
जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित जवजकै वकालत गर्दै नेता नेपाल १५ बर्ष महासचिव हुनुभएको थियो भने खनाल असहमत रहेपछि जवजलाई मानेरै पार्टी अध्यक्ष बन्नुभएको थियो । तर एमाले छाडेसँगै जवज युग सकिएको घोषणा माधवको सहमतिमा झलनाथले गर्नुभएको हो । झलनाथले आज गर्नुभएको घोषणासँगै सो समुह जवजबिरोधी मोर्चाका रुपमा अघि बढने भएको छ ।













प्रतिक्रिया दिनुहोस्