जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार २०:०१

बलिउड स्टार तीन खानलाई नफापेको वर्ष


काठमाडौं, ८ भदौ । बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खानलाई ठूला कलाकारका रूपमा लिइन्छ । सन् २०१८ भने यी तीनै खानका लागि सुखद रहेन । उनीहरूले अभिनय गरेको फिल्मले समीक्षकको मन त जितेन, फिल्मले बक्स अफिसमा पनि कमाल देखाउन सकेन ।

सो वर्ष सलमान अभिनित ‘रेस ३’ रिलिज भयो । अघिल्लो दुई सिरिज हिट भएकाले यो पटक सलमानको आगमनसँगै फिल्मले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको थियो । यद्यपि त्यसो भएन नै, ब्रान्डको साख पनि जोगाउन सकेन । इदको अवसरमा रिलिज भएको यो फिल्मले सलमानको लिस्टमा फ्लप फिल्म थप्नेबाहेक अरु काम गर्न सकेन ।

यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ दीपावलीमा रिलिज भयो । फिल्म रिलिज अगाडि निकै चर्चा थियो, तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेन । फिल्मले फस्ट डे कलेक्सनमा रेकर्ड बनाए पनि आमिरले पछिल्लो समय पाइरहेको सफलतालाई भने जोगाउन सकेन । अर्थात् फिल्म फ्लप भयो । आमिर खानले माफी नै मागे । फिल्मलाई ‘धूम ३’ निर्देशक विजयकृष्ण आचार्यले निर्देशन गरेका थिए ।

शाहरुख खानले पनि आफूलाई सफल बनाउन सकेनन् । रांझानासँगै तनु वेड्स मनु सिरिज निर्देशन गरेका आनन्द एल राय निर्देशित फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भयो । तर, फिल्मको कलेक्सनलाई हेर्ने हो भने शाहरुखको खातामा अर्को फ्लप फिल्म थपियो । फिल्मलाई न त समीक्षकले रुचाए, न त दर्शकले नै । केही वर्षयता निरन्तर असफल भइरहेका शाहरुखको निरन्तरतामा ब्रेक लागेन । सन् २०१८ मा तीनै खानले ठूलै हल्लाखल्लाका साथ फिल्म ल्याए पनि दर्शकले रुचाएको देखिएन । यसकारण पनि सन् २०१८ लाई खानलाई नफापेको वर्ष भन्न सकिन्छ ।

आगामी वर्ष सन् २०२२ मा चार वर्षपछि तीन खान एकसाथ तीन फिल्म लिएर आउँदैछन् । सलमानको टाइगर सिरिज, शाहरुखको स्पाइ थ्रिलर पठान र आमिरको लालसिंह चड्डा रिलिज हुँदैछ ।