जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १०:१५

एमालेले माधव समुहमा लाग्ने नेता–कार्यकर्तालाई पक्षलाई भन्यो : मूल घरमा फर्कनोस, पूर्वाग्रह राखिन्न


काठमाडौं, भदौ ९ । नेकपा एमालेको स्थायी कमिटी बैठकले नयाँ पार्टी दर्ताका लागि आयोग पुगेको माधव नेपाल पक्षलाई पार्टीमा फर्किन आग्रह गरेको छ । मंगलबार बसेको बैठकले अब कुनै प्रकारको भेदभाव वा कारबाही नहुने भन्दै नेपाल पक्षलाई पार्टीमा फर्किन आग्रह गरेको हो ।बैठकले दल दर्ताको प्रक्रिया स्थगित गरेर आएमा सबै नेतालाई स्वागत गर्ने निष्कर्ष निकालेको छ ।

“मूल घरमा फर्किनुहोस् । कुनै प्रकारको भेदभाव वा कारबाही हुँदैन,” एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकले असहमति प्रकट गर्दा मर्यादित रूपमा प्रस्तुत हुन पनि आग्रह गरेको छ ।

यस्तो छ स्थायी कमिटीको बैठकबाट पारित विशेष प्रस्ताव

पार्टी निर्माण, विस्तार र एकीकरण नेकपा (एमाले) को मूलभूत विशेषता हो । पार्टीमा कुनै पनि समस्या सिर्जना हुँदा अन्तरपार्टी छलफलका माध्यमबाट समाधान खोज्ने र अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने यस पार्टीले विकास गरेको संस्कृति हो । विभिन्न समूहमा छरिएका वामपन्थीहरुलाई एकताको प्रवाहमा समेट्दै अगाडि बढ्ने सिलसिलामा नेकपा (एमाले) मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टी, कम्युनिष्ट आन्दोलनको मूलप्रवाह र लोकतान्त्रिक आन्दोलनकै नेतृत्वदायी शक्ति बन्न पुगेको हो । संविधानको रक्षा र विकास, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको सम्बद्र्धन, राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समृद्धिको प्रत्याभूति तथा समाजवादको आधारभूमि निर्माण जस्ता मुलुकका सर्वाधिक महत्वपूर्ण कार्यभार आज यसै पार्टीको काँधमा छन्् ।वैचारिकरुपमा सुस्पष्ट र सङ्कल्पवद्ध, सङ्गठनात्मक रुपमा एकतावद्धतथा कमरेडली समभावमा आवद्ध नेकपा (एमाले) बाट मात्रै यी ऐतिहासिक अभिभाराहरु पूरा हुन संभव छ ।

तर विगत केही समय यता पार्टीभित्र देखा परेका समस्या, कटुता, अन्तरविरोध र अस्वस्थताले पार्टीका नेता–कार्यकर्ता, सदस्यहरु र यसप्रति भरोसा राख्ने आमजनसमुदायलाई चिन्तित तुल्याएको छ । परिवर्तनको संवाहक र जनतामा सर्वाधिक लोकप्रिय शक्ति विभाजित हुँदा राजनीतिक स्थायित्व र लोकतन्त्र, समृद्धि एवम् सामाजिक न्यायको भविष्यमै सिर्जना हुन सक्ने दुष्परिणामको आशङ्काले सिङ्गो राष्ट्र गंभीर बनेको छ ।
नेकपा (एमाले) को एकता यस पार्टीका लाखौं सदस्य र समर्थक–शुभचिन्तकहरुको मात्रै होइन, आम जनता र देशकै चाहना हो । प्रतिक्रियावादी, पश्चगामीहरु र अस्थिरताका संवाहकहरुको चाहना भने यसको विभाजन र विखण्डन हो । यसका लागि उनीहरुका तर्फबाट भइरहेका प्रयाशहरु सबैका सामु स्पष्ट छन् ।

जीवन्त र लोकतान्त्रिक पार्टीभित्र समस्याहरु उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो । तर समस्याको विकल्प विग्रह होइन । त्यसरी नै, भिन्नताको निष्कर्ष अन्तरद्वन्द्व होइन । असहमतिको समाधान विभाजन त झन् हुँदै होइन । पार्टीको आन्तरिक जीवनमा उच्च लोकतान्त्रिक अभ्यास गर्दै आएको नेकपा (एमाले) भित्र समस्याको सकारात्मक समाधान खोज्ने, भिन्नतालाई उन्नत स्तरको एकतामा रुपान्तरित गर्ने र असहमतिहरुलाई स्वस्थ र रचनात्मक वहसका माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने भरपर्दो आधार र सामथ्र्य विद्यमान छ । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शन, समाजवाद निर्माणको साझा सङ्कल्प र देश र जनताप्रतिको अविचलित निष्ठाका जगमा हामीले समाधान गर्न नसक्ने कुनै आन्तरिक समस्याहरु छैनन् ।

तसर्थ, नेकपा (एमाले) बाट विभाजित भएर अलगै पार्टी दर्ता गर्ने प्रयाश गरिरहेका कमरेडहरुलाई हामी आग्रह गर्छौैं– मुलुकका सामु उपस्थित असाधारण संभावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै, पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै, असफलता अवश्यंभावी रहेको त्यस्तो गलत, हानीकारक बाटो छाडेर पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मूलघरमा फर्किनुहोस । विभाजनकारी गतिविधि र अलग दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्ने कमरेडहरुलाई पार्टीमा हार्दिक स्वागत गरिने र यस अघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र , भेदभाव या कार्बाही नहुने पनि स्पष्ट पार्न चाहन्छौं ।

तसर्थ पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको एकता र अग्रगतिका निम्ति आ–आफ्नो स्थानबाट अधिकतम योगदान गर्न तथा असहमति प्रकट गर्दा मर्यादित र संयमित रुपमा प्रस्तुत हुन आह्वान गर्दछौं ।