जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार २२:५१

नेपाली क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा


काठमाडौं, भदौ ११ । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ(क्यान)लाई इमेल पठाएर राजिनामा दिएको जानकारी गराउनुभएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उहाँको राजिनामाको पुष्टि गर्नुभएको छ ।

सचिब प्याकुरेलले ओमान भ्रमण सकिएपछि सम्झौताको म्याद थप्नेबारे छलफल गर्ने क्यानले सोच बनाएकोमा बीचमै राजिनामा आउनु अप्रत्याशित भएको प्रतिक्रिया दिनुभयो । गत् पुस पहिलो साता उहाँसँग नेपाल क्रिकेट संघले एक वर्षे अनुबन्धन सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानका सचिब प्याकुरेलले भन्नुभयो, “सम्झौताको ‘टिओआर’भित्रै रहेर उहाँले राजिनामा गर्नुभएको हो तर राजिनामाको उपयुक्त समय भएन ।” राष्ट्रिय क्रिकेट टोलि हाल विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानमा रहेको छ । टोलि तयारीमा रहँदा प्रमुख प्रशिक्षकको राजिनामाले खेलाडीको समग्र प्रदर्शन प्रभाबित हुने आँकलन गरिएको छ ।

प्याकुरेलले ओमान भ्रमण सकिएपछि उहाँको राजिनामा लागू हुने बताउनुभएको छ । ‘टिओआर’मा प्रशिक्षकबाट राजिनामा दिनुपर्ने भए एक महिना अगाडि जानकारी गराउनुपर्ने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्थालाई टेकेर प्रशिक्षक व्हाटमोरले राजिनामा दिनुभएको हो । यद्दपी उहाँको अनुबन्धन सम्झौता डिसेम्बर महिनामा मात्रै सम्पन्न हुँदै थियो ।