जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार ०८:२३

अमेरिकाको चेतावनी : अफगानिस्तानमा अर्को आतंककारी हमला हुनसक्छ


काठमाडौं, १३ भदौ ।  अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंकवादी हमला हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ।राष्ट्रपति जो बाइडेनले शनिबार काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्ने सूचना पाएको बताउनुभएको छ ।

बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको थियो। बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका थिए।आइतबार काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान भनेको छ।

समाचार संस्था एपीका अनुसार अमेरिकी दूतावासको उक्त चेतावनीपछि अहिले काबुल विमानस्थलको गेटबाहिर भिड कम हुँदै गएको छ।यसअघि बिहीबार साँझ काबुल विमानस्थलबाहिर भएका दुई वटा आत्मघाती बिस्फोटमा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो।बिहीबार साँझ भएका बिस्फोटको जिम्मा मुस्लिम अतिवादी संगठन आइएसआइएसकेले लिएको छ। इस्लामिक स्टेट भनिने अतिवादी समूह आइएसआइएस इराक र सिरियामा सक्रिय छ।

आइएसआइएसके त्यसैको एउटा शाखा हो। यसको पूरा नाम इस्लामिक स्टेट खोरासान प्रोभिन्स हो। यसले अफगानिस्तान र पाकिस्तानमा आफ्ना गतिविधि गर्छ। काबुल आक्रमणको बदलामा अमेरिकाले शुक्रबार आइएसआइएसकेको अखडामा ड्रोन आक्रमण गरेको थियो। उक्त ड्रोन आक्रमणमा विमानस्थलमा आक्रमण गर्ने योजना बनाउने मुख्य योजनाकारको मृत्यु भएको अमेरिकाको दाबी छ। राष्ट्रपति बाइडेनले आइएसआइएसकेविरूद्ध शुक्रबारको आक्रमण अन्तिम नभएको पनि बताउनुभएको छ ।