जनता टाइम्स

३ असार २०७६, मंगलवार १८:१०

बामपन्थी, उग्रपन्थीदेखि अति दक्षिणपन्थी र प्रतिक्रियावादीसम्म एकजुट भएको देखियो : प्रधानमन्त्री ओली


काठमाडौं, असार ३

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसदमा असंसदीय र अमर्यादित गतिविधि देखाएको बताउनु भएको छ । गुठी बिद्येयकको बिषयमा जानकारी दिन आज संसदमा सम्बोधन गर्न कांग्रेसले अवरोध गरेपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले मुलुकमा अति दक्षिणपन्थी र प्रतिगामी शक्तिको मोर्चाबन्दी स्पष्ट रुपमा देखिएको घारणा पनि राख्नुभयो । लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको शासनविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट देखा परेको छ, विभिन्न प्रकारका तत्वहरू देखा परेका छन्। अति बामपन्थी, उग्रपन्थीदेखि अति दक्षिणपन्थी र प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ। त्यसको प्रतिविम्ब संसदमा पनि देखियो, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सात सालको आन्दोलनपछि सबैलाई साथ लिनुपर्नेमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यतिबेला पनि कांग्रेसले प्रतिक्रियावदीसँग सहकार्य गरेको बताउनु भयो । त्यही नीतिले २००७ सालपछि जनताले चाहेजस्तो संविधान नबनेको भन्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई सचेत गराउनु भयो ।पत्रकारसम्मेलनमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनका लागि समय लिइसकेको अवस्थामा प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्छ भनेर प्रतिपक्षी कांग्रेसले बालहठ देखाएको बताउनु भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले कांग्रेसले संसदमा अत्यन्तै असंसदीय र अमर्यादित व्यवहार देखाएको भन्दै आलोचना गर्नुभयो । आजको संसद बैठकमा कांग्रेसको अवरोधका कारण रोस्ट्रममा पुगिसक्नुभएका प्रधानमन्त्री ओलीले सम्बोधन नगरी फर्किनु भएको थियो । कांग्रेसको अवरोधका कारण बैठक नै स्थगित भएको थियो ।
असंसदीय र अमर्यादित व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो, दुनियाको लोकतान्त्रिक अभ्यासमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको खण्डमा संसदलाई सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अगाडिदेखि तय भएको आफ्नो सम्बोधन रोक्नका लागि मात्र कांग्रेसले अलोकतान्त्रिक ढंगले संसदमा अवरोध गरेको ठोकुवा गर्नुभयो । आश्चर्य लाग्दो गरी अगाडिदेखि तय भएको सम्बोधनको समयमा आफूले बोल्न पाउनुपर्छ भन्ने अड्डीमात्र उसले लिएन, बोल्न रोक्न बेलमा गएर संसदको कारबाहीलाई अवरोध गरियो। तर त्यस्तो गर्नुपर्ने विषय थिएन, पहिले प्रधानमन्त्रीले बोल्ने र पछि विपक्षी दलको नेता तथा अरुले वरियताअनुसार बोल्ने संसदीय प्रचलन हो, प्रधानमन्त्री ओलीको भनाई थियो ।
उहाँले कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्न थालेको तथ्य पनि राख्नुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा आफैं नेतृत्व गरेर बेल घेर्न आइपुगेको भन्दै कडा ब्यंग्य गर्नुभयो । मेरा लामो समयदेखिका मित्र, लोकतान्त्रिक आन्दोलनका सहयात्री, आफैं नेतृत्व गरेर बेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, म आश्चर्यचिकत भएँ, उहाँले संसदीय मर्यादा थाहा पाउनुपर्ने हो, प्रधानमन्त्री ओलीले भन्नुभयो ।