जनता टाइम्स

३ असार २०७६, मंगलवार १८:१४

देउवाको नेतृत्वमा कांग्रेसले संसदमा बालहठ देखायो – प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले संसदमा नेपाली कांग्रेसले देखाएको व्यवहार अमर्यादित भएको बताउनु भएको छ । लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार देखाएको भन्दै उहाले आपत्ति समेत प्रकट गर्नुभयो ।

सिंहदबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाले संसद्‌मा पहिले प्रधानमन्त्री बोल्ने, त्यसपछि प्रमुख विपक्षी दलका नेता बोल्ने संसारभरको संसदीय प्रक्रियाविपरीत कांग्रेसले अमर्यादित क्रियाकलाप गरेको बताउनु भयो । ‘प्रधानमन्त्रीले बोल्ने भनेर पहिले तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनुपर्छ भनेर अड्डी लियो’, उहाले भन्नुभयो, ‘त्यत्तिमात्रै गरेन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसद्को काम कारबाही अवरुद्ध पारे, विषय केही थिएन ।’

प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको बताउनु भयो । ‘शेरबहादुर देउवा आफैंले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा म आश्चर्यचकित भएँ। उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो’, प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्नेमात्रै काम गरिरहेको समेत स्पष्ट पार्नुभयो ।