जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार १३:२२

सरकारी स्वास्थ्य सामग्रीमा कांग्रेसको स्टिकर, सिडियोले बोल्नै अप्ठेरो पर्ने भनेपछि…


धनकुटा, १४ भदौ । धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीको विषयले नेपाली कांग्रेस र एमालेबीच विवाद सृजना भएको छ । कांग्रेस सहमहामन्त्री सुनीलकुमार थापाले वितरणका लागि ल्याएको स्वास्थ्य सामग्रीको विषयले विवाद सृजना गराएको हो । धनकुटाका विभिन्न स्थानमा वितरण गर्नेगरी सूर्यबहादुर थापा प्रतिष्ठानले दाताको सहयोगमा ल्याएको स्वास्थ्य सामग्रीका विषयले कांग्रेस र एमालेबीच विवाद उत्पन्न भएको हो ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलले दाताको सहयोगमा ल्याएको स्वास्थ्य सामग्रीलाई एमालेले सरकारी बजेटबाट खरिद गरेको आरोप लगाएको बताउनुभयो । प्रतिष्ठानका संरक्षकसमेत रहेका थापाको दावीविपरीत एमाले उक्त स्वास्थ्य सामग्री सरकारी रहेको जिकिर गरेको हो । वितरणका लागि ल्याइएको स्वास्थ्य सामग्रीमा कांग्रेसको स्टिकर टाँसिएको पाइएपछि एमालेले विरोध जनाएको हो ।

उक्त विषयमा शनिबार एमालेले पत्रकार सम्मेलन गरेर तत्काल सम्बन्धित निकायमा हस्तान्तरण गर्नुपर्ने माग गरेको थियो । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले स्वास्थ्य सामग्रीमा राजनीतिकरण गरिएको आरोप लगाउनुभयो । जिल्लाका सातवटै स्थानीय तहमा वितरण गर्न ल्याइएका सामग्रीमा कांग्रेस पार्टीको स्टिकर टाँसेर होटलमा थन्काएर राखेको उहाँको आरोप छ ।

कांग्रेसको लेटरप्याडमा माग गरी सरकारी निकायमार्फत स्वास्थ्य सामग्री प्रतिष्ठानको नाममा ल्याइएको एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर सामग्री आधिकारिक निकायमार्फत वितरण नगरे आफ्ना कार्यकर्तामार्फत होटलबाट जफत गरेर बुझाइने राईले चेतावनी दिनुभयो । यसैगरी, जिल्लामा ल्याइएका ती सामग्रीको स्रोत देखाउन एमालेले चुनौतीसमेत दिएको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री थापाले ती सामग्री आफ्नो निजी तरिकाले ल्याइएकाले आफ्नै ढंगले वितरण गर्ने बताउनुभयो । कांग्रेसले ६० लाख मूल्य बराबरको अक्सिजन सिलिण्डर, अक्सिमिटर, थर्ममिटर, थर्मलगन, प्यारासिटामोल, कफसिरफ, फेससिल, मास्क, स्यानिटाइजरलगायतका सामग्री प्रष्ठिानमार्फत थापाले संकलन गरेको बताउनुभयो । सूर्यबहादुर थापा प्रतिष्ठानका संरक्षक तथा कांग्रेस सहमहामन्त्री थापाले त्यो सामान प्रतिष्ठानको निजी सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

कांग्रेस अधिवेशन आउँदै गर्दा चुनावलाई प्रभावित पारेको आरोप आउन सक्ने भएकाले व्यवस्थित गरेर सबै स्थानीय तहमा वितरण गरिने थापाले बताउनुभयो । होटलमा राखिएका सामग्री आगामी एक साताभित्र वितरण गरिने उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमार्फत आएको सामग्रीमा सरकारको एक रुपैयाँ त के एक पैसा पनि नपरेको दाबी गर्दै थापाले सो सामानमा सरकारी पैसा परेको कसैले प्रमाण पुर्याए आफूजस्तो सुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको सामग्री आइपुगेकै दिन धनकुटा अस्पताल र विभिन्न स्थानीय तहलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सहकर्मी राजनीतिक दलले विवाद निकालेको सामान एक महिनाअघि धनकुटा आएको दावी गर्नुभयो । विवाद चुलिएपछि स्वास्थ्य सामग्री स्थानीय प्रशासनको रोहवरमा राखिएको छ। तर, पत्रकारलाई ती सामग्रीको तस्बिर खिच्न प्रशासनले अनुमति दिएको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले त्यस विषयमा आफूले केही नबोल्ने बताउनुभयो । ‘मलाई अप्ठेरो पर्छ’, उहाँले भन्नुभयो, ‘म केही बोल्ने पक्षमा छैन।’