जनता टाइम्स

४ असार २०७६, बुधबार ०९:०५

संसदमा प्रधानमन्त्रीलाई बोल्न नदिएपछि कांग्रेसले यसरी बोल्यो झुट


काठमाडौं ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा को पहिला बोल्ने भन्ने विषयमा सरकार र विपक्षीबीच विवाद श्रृजना भएको थियो । कांग्रेसले आफ्ना छाँया सरकारका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा पहिला बोल्न पाउनुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध बनायो ।

बैठक अवरुद्धपछि संसद बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भयो । बैठक स्थगित भएपछि संचारकर्मीसँग बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सभामुखले आफुहरुलाई बोल्न समय नदिएको जिकिर गर्नुभयो । नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरेपनि प्रधानमन्त्री ओलीलाई मात्रै समय दिइएकोले कांग्रेस सांसदहरू विरोधमा उत्रिएको दाबी प्रमुख सचेतक खाँडको थियो । ‘हामीले सभामुखलाई बिहानै शेरबहादुर देउवा बोल्नुहुन्छ भनेर समय माग गरेका थियौं । तर, उहाँले प्रधानमन्त्रीले बोल्नुहुन्छ भन्दै समय दिनु भएन,’ खाँडले भन्नुभयो, ‘उहाँहरूले प्रतिपक्षको बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने काम गर्नुभएको छ ।’

घटना यस्तो थियो 

मंगलबार विहान ११ बजे बोलाइएको बैठकमा यही विषयमा गलफत्ती भएपछि एक घण्टा ढिलो सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिनुभयो । सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि पहिला बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागु गर्न खोजेपछि काँग्रेसका सांसद रोस्टम नै घेर्न पुगेका थिए । शुरुमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गरे । उठेर विरोध जनाईरहेपछि कांग्रेस सांसदलाई सभामुखले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले समसामयीक विषयमा बोल्न समय माग्नु भएको छ, उहालाई बोल्न दिऔं, त्यसपछि प्रतिपक्षलाई बोल्न समय दिन्छु ।’ तर, काँग्रेस सांसदले उठेर विरोध जनाईरहे ।

त्यसक्रममा प्रधानमन्त्री ओली बोल्नका लागि रोष्टम उक्लिदै गर्दा कांग्रेसका सांसदले आफू बसेको स्थानबाट उठेर रोस्टर्म घेर्न लागे । काँग्रेसले प्रधानमन्त्री भन्दा पहिला आफूले बोल्न पाउनुपर्ने माग ग¥यो । उसले संसदीय सर्वोच्चता कायम राख्नुपर्ने भन्दै चर्को नारा समेत लगाए । सभामुखले काँग्रेसको नाराका बाबजुत ‘प्रधानमन्त्रीलाई बोल्न दिनुहोस्, त्यसपछि म समय दिन्छु’ भनेर पटक पटक भन्नुभयो । तर, काँग्रेस सभापति समेत रहेका देउवाकै नेतृत्वमा रहेको कांग्रेसले रोष्टम घेरिरह्यो । निरन्तर नाराबाजी भईरहेपछि सभामुख महराले बुधबार बिहान ११ बजेसम्मका लागि भनेर संसद स्थगित गर्नुभयो ।

सभामुखले पटक पटक समय दिन्छु भन्दा भन्दै पनि कांग्रेसका प्रमुख सचेतकले सभामुखले समय नै नदिएका कारण बोल्न नपाएको सफेद झुट बोल्नु भएको छ । सभामुखले बोल्न दिने कुरा अहिले पनि संसदको रेकर्डमै छ ।