जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार १४:११

आधुनिक तालिवान शासन : समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल


काबुल, १५ भदौ । एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन् । बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ । केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन् । यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको ।

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन् । उनीहरुले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए । आज विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन् । बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउँसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए । प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए ।

तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए । प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए । इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेख्नुभएको छ, ‘यो भिडियो अस्वभाविक छ । तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन् । ’ एजेन्सी