जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार ०५:३७

गोठमा मृत्यु कुरेकी उमा : आँखा देख्दिनन्, खुट्टा चल्दैनन्


गुल्मी, १६ भदौ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली न्वालाकी उमा घर्तीले बाहिरी संसार नदेखेको ७ वर्ष भयो । अहिले गोठको छेउमा पशुसरह पल्टिनुभएको छ उहाँ । पीडाले आँखाबाट आँसु खस्छ । तर, आफ्नै अवस्था देख्न सक्नुहुन्न । केही समय पहिलेसम्म दुवै आँखा नदेख्दा पनि लट्ठीको भरमा हिँडडुल गर्नुहुन्थ्यो उहाँ तर अहिले छ महिनादेखि कम्मरदेखि तलको भाग पनि चल्दैन । अहिले हर फर्किन पनि अरूको आवश्यकता पर्छ । उहाँको ८ र १३ वर्षका छोरा र छोरी छन् । रोगले चापेपछि श्रीमान् बिनबहादुर घर्तीले पनि हेर्न छाड्नुभयो । दृष्टि गुमेसँगै खुट्टा पनि नचल्ने भए ।

उमा बिस्तरामा दिसापिसाबसँग लडिरहनुभएको हुन्छ । उहाँले दुवै आँखा गुमेदेखि उपचार गर्न, मिठो–मसिनो खान र आरामको कुराको त कल्पना पनि गर्नुभएको थिएन, त्यसैमाथि थपिएको अर्को रोगले दिसापिसाब बिस्तरामै गर्ने अवस्था आयो । उहाँले केही महिनादेखि कल्यारस्थित दिदी सिरकला गुरुङको घरमा मृत्युका दिन कुरिरहनुभएको छ । ८ वर्षीय छोरा अनिल बोल्ने सहारा मात्र छन् । दैनिक आमाको पीडा हेरेर निरीह बनेका छन् उनी । तर, उनीसँग कुनै उपाय छैन । आमाको शरीर दैनिक खस्किएको छ । अनिलसँग आमाको मृत्युको साक्षी बन्नुबाहेक अरू उपाय छैन । सिरकला पनि एकल बिपन्न महिला हुन् । काम नगरे आफैँले कसरी खाने भन्ने सिरकलालाई चिन्ता छ । त्यससँगै बहिनीको स्याहार र उपचारको दायित्व पनि ।

‘सबले आफूले सक्ने बेलासम्म हेर्ने रहेछन् । छोरीले डोहोर्याएर मेरोमा ल्याएर छाडी’, उहाँले भन्नुभयो, ‘मैले सकेको गरिरहेकी छु ।’ सिरकलाले केही ऋण खोजेर गुल्मी अस्पताल पुर्याएकी हुन् उहाँलाई । डाक्टरले थप उपचारका लागि पाल्पा पठाए । तर, उपचारका लागि पैसा नभएकाले घर लिएर आएको गुरुङले दुखेसो पोख्नुभयो । बिस्तराको दिसापिसाबले उमाको ढाड कुहिएको छ । उपचार र सरसफाइको अभावमा ढाडमा प्वाल पर्दै जान थालेपछि सहयोगको याचना सुरु गरिएको छिमेकी कमल गुरुङले बताउनुभयो । उमालाई आफू बाँच्ने भन्दा छोराछोरी अलपत्र पर्नेमा चिन्ता छ ।

‘शरीर कुहिएर सकिन लाग्यो । म त बाँच्दिनँ, छोराछोरी अलपत्र पर्ने भए’, उहाँले भन्नुभयो, ‘मलाई मभन्दा उनीहरूको पिरलो छ ।’ स्थानीय सरकारले पनि उमालाई हेर्नेबाहेक अरू केही गर्न सकेको छैन । गाउँपालिकाको कार्यविधिअनुसार यातयात खर्चबापत पाँच हजार र सरकारले तोकेका आठवटा रोगका लागि एक लाख रुपैयाँ छुटको सिफारिस दिनेबाहेकको विकल्प नभएको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताउनुभयो । बिष्टले उपचारका लागि सकेका उपायहरू आफुहरूले पनि निकाल्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।