जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार ०९:५४

वर्षकै उत्कृष्ट तस्बिर अमेरिका–मेक्सिको सीमामा उभिएको चरा


काठमाडौं, भदौ १५ । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्नुभएको छ । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उहाँलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो । तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिरहन्छ ।

फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताउनुभएको छ । ‘सीमा पर्खालले पूरै मरुभूमि र पहाडलाई नाघेको छ र १५ सय बढी जनावर र बिरुवाको जैविक विविधतामा बाधक बनेको छ’, प्रिइटो भन्नुहुन्छ, ‘मैले धेरै जनावर तथा चराहरु पर्खालसम्म पुगेको र पारिपट्टि जान नसकेर फर्केको देखेको छु ।’

प्रतियोगितामा सहभागी २२ हजार तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ को उत्कृष्ट भएको बीबीसीले जनाएको छ । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको छ । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री गर्दै आउनुभएको छ ।