जनता टाइम्स

४ असार २०७६, बुधबार १३:२२

भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु


कञ्चनपुर, असार ४

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

“प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड रकमसमेत विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “खेलकूदको विकासका निम्ति प्रदेश सरकार सदैव तयार छ ।” राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको व्यवस्थापनमा शुरु भएको प्रतियोगिता यही असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो हुने टोलीले रु तीन लाख र ट्रफी तथा तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् ।