जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १३:३६

बलिउड निर्देशक सुरज बडजात्या आज नेपाल आउँदै, सोमबार मुस्ताङ पुग्ने


प्रदीप कार्की / काठमाडौं, २० भदौ

बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदै हुनुहुन्छ । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको ‘उचाइ’ को सुटिङका लागि उहा आज नेपाल आउन लाग्नुभएको हो । उहाँ भोली मुस्ताङ पुग्ने कार्यक्रम रहेको छ । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ ।

फिल्ममा अमिताभ बच्चनसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउन लाग्नुभएको हो । उहाँ आज काठमाडौं बसेर भोलि बिहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकोप्टरमार्फत प्रस्थान गर्नुहुने भएको छ । पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलीले अब मुस्ताङमा सुटिङ हुने लोकेसन छान्ने भएको छ ।

पहिलोपटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्न लाग्नुभएको हो । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताउनुभयो । उहाँकै कम्पनीले तीन वर्षअघिदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ,’ सुरजले भन्नुभयो, ‘कोरोनाले गर्दा केही समय ढिलो भयो ।’

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर छन् अरुण रेग्मी । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुग्नुभएको छ । यही टिमसँग भोली निर्देशक बडजात्याको टोलीले ज्वाइन गर्ने छ ।

‘उचाइ’ को छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा हुनेछ । केही सुटिङ काठमाडौं आसपासमा पनि हुनेछ । ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ रेग्मीले भन्नुभयो । उहाँले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताउनुभो । फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।