जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार ०८:२०

काठमाडौंमा ८ घन्टादेखि वर्षा, सिन्धुलीमा अलर्ट जारी


काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । अहिले सम्म पनि वर्षा थामिएको छैन । लगातार ८ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ ।

मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो । त्यस्तै, चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।