जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार ०८:५१

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिको गयो ज्यान


काठमाडौं, २१ भदौ । रोल्पामा पहिरोले घर पुरिँएर एकै घरका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा ७० वर्षीया वृद्धा गौरी थापा र उहाँका नाति छन् ।

बालकको परिचय खुल्न नसकेको सुवेदीले जानकारी दिनुभयो । राति करिब २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् । बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका–२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ । रोल्पाकै सुनछहरी गाउँपालिका–६ मा नोवाङखोला लघुजलविद्युत आयोजनाको करिब ५० मिटर बाँध बाढीले बगाएको प्रहरीले जनाएको छ ।