जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १६:१५

एमाले रामेछाप जेठ २ मा, अध्यक्षमा पौडेल, सचिव श्रेष्ठ


काठमाडौं, भदौ २१ । नेकपा एमाले रामेछाप २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । प्रदेशसभा सदस्य समेत रहेका शान्ति प्रसाद पौडेल माधव नेपाल समूह छाडेर एमालेमै बस्ने भएपछि उहाँ अध्यक्षमा पुनर्बहाली हुनुभएको छ । नेकपा एकीकरणपछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव हुनुभएको थियो । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि पुस ५ पछि साविक नेकपाको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरिया चुनिएसँगै एमालेको नेतृत्व उहाँहरुकै हातमा थियो ।

पौडेल एमालेमै क्रियाशील भएसँगै आज बसेको पदाधिकारी बैठकले १० बुँदे सहमतिअनुसार पार्टीका जिल्ला तथा स्थानीय संरचनाहरुलाई अघि बढाउने निर्णय गरेको जिल्ला अध्यक्षबाट सचिवको जिम्मेवारीमा फर्किएको आनन्द श्रेष्ठले बताउनुभयो । आजैबाट पौडेल एमाले अध्यक्षको जिम्मेवारीमा फर्किनुभएको छ । जेठ २ अघिका जिल्ला इन्चार्ज देवशंकर पौडेल नेकपा एसमा लागेका कारण जिल्ला इन्चार्जको जिम्मेवारीमा भने कैलाश ढुंगेलकै निरन्तरता भएको छ ।

ढुंगेलको उपस्थितिमा बसेको बैठकले भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । अब एमाले जिल्ला अध्यक्ष पौडेल, उपाध्यक्ष प्रेम तामाङ, सचिव आनन्द श्रेष्ठ र उपसचिव झम्क कँडेल बहाल हुनुभएको छ । रामेछापबाट केन्द्रीय सदस्य देवशंकर पौडेल, मन्थलीका मेयर रमेश बस्नेत र एकजना वडाध्यक्षसहित केही व्यक्ति नेकपा एसमा सामेल हुनुभएको छ ।