२३ भाद्र २०७८, बुधबार ००:००

देउवाबिरुद्ध खुलेर मैदानमा उत्रिए निधि


काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिएका उप सभापति विमलेन्द्र निधिले देउवाबिरुद्ध खुलेर मैदानमा उत्रिनु भएको छ । कांग्रेस संस्थापनमा विद्रोह गर्दै आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएका उपसभापति निधिले सभापति देउवाविरुद्ध डडेल्धुराबाटै संघर्ष सुरू गर्नुभएको छ । डडेल्धुरा देउवाको गृहजिल्ला हो । त्यहाँ क्रियाशील सदस्यताको विवरण सार्वजनिक भइसके पनि विवादका कारण वडा तहको अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको विषयमा डडेल्धुरामा देउवा पक्ष र जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच विवाद चर्किएको छ ।

जिल्ला सभापति मल्लकै असहमतिकाबीच निर्वाचन अधिकृतमार्फत अधिवेशनको प्रक्रिया अघि बढाउन खोजेपछि देउवाको गृहजिल्ला डडेल्धुरामा परेको देउवा–निधिबीचको संघर्ष सतहमा आएको हो । निधिले देउवाको गृहजिल्ला डडेल्धुराकै विषयमा देउवाविरुद्ध कदम उठाउनुभएको छ । उहाँले जिल्ला सभापति मल्लको पक्ष लिएर देउवालाई पत्राचार नै गरेर ध्यानाकर्षण समेत गराउनुभएको छ । लामो समयसम्म देउवासँगै काम गरेका निधिलाई देउवाले नै पार्टीको उपसभापति मनोनीत गर्नुभएको थियो । जिल्ला सभापति मल्लले पनि १३ औं महाधिवेशनमा देउवाकै समर्थनमा जिल्ला सभापति जित्नुभएको थियो । तर, अहिले सभापति देउवा उहाँसँग असन्तुष्ट हुनुहुनछ । मल्ल भने यसअघि काठमाडौंमा निधिले गरेको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसअघि स्थानीय तहको निर्वाचनमा मल्ल र देउवाबीच विवाद भएको थियो । त्यसपछि मल्ल देउवालाई छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिको भेलाहरूमा समेत सहभागी हुँदै आउनुभएको थियो । आफ्नै जिल्लाको संगठन सम्हाल्ने सभापति अर्कोतिर लागेपछि देउवाले सदस्यता वितरणमा गरेको मनोमानी खुलेको हो ।

सदस्यताकै विवादका कारण डडेल्धुरामा वडा अधिवेशन कहिले हुने भन्ने टुंगो छैन । देउवा पक्षका नेताहरु पूर्वजिल्ला सभापति रघुवर भट्ट, नेता गोविन्द बोहरा र परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदसहित र निर्वाचन समितिले भदौ २५ गते अधिवेशन गर्ने मिति तोकेको छ । तर, जिल्ला सभापति मल्लसहित देउवाइतर पक्षले भने सदस्यताको विवाद सुल्झाएर मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन सकिने भनेको छ ।
उपसभापति निधिले भने देउवालाई पत्राचार गर्दै डडेल्धुरामा क्रियाशील सदस्यताको विवाद समाधान गरेरमात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ । ‘डडेल्धुरामा क्रियाशील सदस्यहरुको नामावलीबारे गम्भीर विवाद उत्पन्‍न भएको छ । सम्पूर्ण प्रक्रिया पुर्‍याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्यसमितिको सहयोग र समन्वय विना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्यसमितिको निर्णयसहितको विज्ञप्ति पनि आएको छ,’ निधिले देउवालाई सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ, ‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्यसम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मागदर्शन वा निर्देशनको विनम्र अनुरोध गर्दछु ।’

जिल्ला सभापति मल्लले क्रियाशील सदस्यतामा भएको धााधली पुनरावलोकन गरेपछि मात्रै अधिवेशन अघि बढाउन सकिने बताउनुभयो । विधानअनुसार जिल्लाका चार तहका कार्यसमितिले सिफारिस गरेर पठाएका चार सय ६० जनाको नाम केन्द्रबाट काटेर पठाइएको उहाँको भनाइ छ । ‘हामीले वडा, पालिका, प्रदेश र जिल्ला कार्यसमितिबाट पठाएका विभिन्न वडाहरुका चार सय ६० जनाको नाम काटिएको छ । कुनै प्रक्रिया पुरा नगरी नै तीन सय १२ जनाको नाम थपेर पठाइएको छ,’ मल्लले भन्नुभयो । ‘प्रक्रिया पूरा नभएका व्यक्तिहरुको सदस्यता नवीकरण गरी पठाइएको छ । त्यसमाथि पार्टीको निर्णयविपरीत पूराना सदस्यभन्दा धेरै नया सदस्य थपिएको छ, यो पुनरावलोकन नगरेसम्म अधिवेशनको प्रक्रिया अघि बढाउनुहुन्न भन्ने हाम्रो माग हो ।’ यसअघि मंगलबारै जिल्ला कार्यसमितिले यस्तो निर्णय गरिसकेको मल्ल बताउनुहन्छ । जिल्लासग समन्वय नै नगरी केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृतले भदौ २५ गतेदेखि वडा अधिवेशन गर्ने विज्ञप्ति जारी गरेको मल्लको आरोप छ । ‘निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ गते वडा अधिवेशन सम्पन्न गर्ने भनी प्रकाशित गरेको विज्ञप्तिप्रति नेपाली कांग्रेस डडेल्धुरा आश्चर्यचकित छ,’ मल्लले विज्ञप्तिमार्फत भन्नुभएको छ ।

जिल्ला सभापति मल्लले जिल्लामा कांग्रेसको अधिवेशन तत्कालिन राजा ज्ञानेन्द्रले गराएको चुनावजस्तै हुने अवस्था बनेको बताउनुभयो । ‘राजा ज्ञानेन्द्रको पालामा कमल थापाले चुनाव गराएका थिए, त्यस्तै खालको निर्वाचन अहिले यहाा कांग्रेसले गराउन खोजेको छ,’ उहाँले भन्नुभयो , ‘हाम्रै केही साथीहरुसाग निर्वाचन अधिकृतको मिलेमतो छ । प्रहरी घेराबन्दीमा बस्नुभएको छ । पार्टीको जिल्ला कार्यसमितिको निर्णयविपरीत अधिवेशन कसरी हुन्छ ?’

उहाँले त्रुटि सच्याएपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन सकिने बताउनुभयो । निर्वाचन समितिले भने जिल्ला सभापति वा जिल्ला कार्यसमितिलाई अधिवेशनको मिति तोक्ने वा सार्ने अधिवेशन नभएको बताएको छ । नेता शेखर कोइरालाले पनि डडेल्धुरामा देखिएको विवाद समाधान नगरी अधिवेशनको आव्हान गर्नु दुःखद भएको बताउनुभएको थियो । ‘यो लोकतान्त्रिक प्रक्रिया हुनै सक्दैन । यसले पार्टी कसरी चलाइँदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद् छ,’ उहाँले भन्नुभएको छ ।