काठमाडौं, भदौ २५। नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिनुभएको छ । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले बताउनुभयो । पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिनुभएको बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ ।
प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।उक्त कार्यतालिका अनुसार अधिवेशन गराउने कुरामा पार्टीका नेताहरुबाट सहयोग भन्दा झमेला थप्ने काम भएको निर्वाचन समितिको गुनासो छ ।
महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले दिएको राजीनामा स्वीकृत हुन्छ हुँदैन यकिन छैन । तर नेताहरुको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो । गत चैत १६ गतेबाट अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोड्नुभएको थियो । अधिकारीको ठाउँमा आउनुभएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा बुझाउनुभएको छ । काँग्रेस महाधिवेशनमा यसले थप अन्योलता उत्पन्न गराएको छ ।
सभापति शेर बहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन भएको छैन। क्रियाशील सदस्यतामा देखिएको विवादले गर्दा भदौ १८ बाट २२ हुँदै २५ गतेका लागि अधिवेशन सरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडा अधिवेशन स्थगित गर्न माग गरिरहेका छन्।
जिल्लाबाट पठाइएका क्रियाशीलको नाम हटाएर केन्द्रबाट नयाँ नाम थपेर पठाइएको भन्दै डडेल्धुरामा विवाद छ। तर सभापति देउवा पक्षले भने बागी उम्मेदवार लगायतको मात्रै नाम हटेको बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्