धुलिखेल, भदौ २६ । अन्तरदेशीय सहकार्यमा जोड दिँदै यूसीजीएलको आठौं सम्मेलन सम्पन्न भएको छ । कोभिड१–९ संक्रमणको यस महामारीमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकालगायतका प्रस्ताव पारित गर्दै ‘यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट’ (यूसीजीएल)को आठौं सम्मेलन सम्पन्न भएको हो ।
कोरोना लगायतका स्वास्थ्य संक्रमण रोकथाममा स्थानीय निकायको जिम्मेवारी महत्वपूर्ण हुने सम्मेलनको निष्कर्ष छ। सम्मेलनले संक्रमण न्यूनीकरणका लागि सबै तहका सरकारबीच हातेमालो गर्दै अन्तरदेशीय सहकार्य औल्याएको छ ।
स्थानीय सरकार र शहरहरुको दीर्घकालीन विकासका लागि अन्तर देशीय शहर र स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाबारे यूसीजीएल मुलुकका स्थानीय सरकार प्रमुखहरुले भर्चुअल रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए। एसिया प्रशान्त क्षेत्रको अहिलेको सम्मेलनले आगामी विश्व सम्मेलन, आर्थिक तथा कोरोनाको महामारीबाट छुटकारा पाउन स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित गरेको अध्यक्ष अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

उहाँले शहरलाई सुन्दर, शिक्षित र स्मार्ट बनाउन लागि आवश्यक पर्ने प्रविधि र अन्य स्रोत, साधनका बारेमा पनि छलफल भएको बताउनुभयो । नेपालको संस्कृति र शहरी विकासको अवधारणबारे विश्वभर चिनाउन आठौं सम्मेलन महत्वपूर्ण रहेको ब्याञ्जुको भनाइ छ। नेपालको काठमाडौं महानगर, वीरगन्ज महानगर, धरान उपमहानगर, धुलिखेल नगरपालिकालगायतका स्थानीय तह यूसीजीएलका सदस्य शहर हुन् ।
चीन, भारत, पाकिस्तान, जापान, दक्षिण कोरिया, इण्डोनेसियालगायतका मुलुक सदस्य छन्। बिहीबार सम्पन्न भएको तिन दिने सम्मेलनमा विश्वभरका दुई लाख ४० हजार भन्दा बढी नगरपालिका र शहरहरुको साझा संस्था हो । नेपाल गत वर्षदेखि यूसीजीएलको अध्यक्ष राष्ट्रको भूमिकामा छ भने इण्डोनेसियाको जाकार्तामा मुख्यालय रहेको यसमा एसिया प्रशान्त क्षेत्रबाट सात हजार बढी शहर सदस्य छन्।













प्रतिक्रिया दिनुहोस्