चितवन, भदौ २६ । एमाले नेता महेश बस्नेतले तत्काल मन्त्रिपरिषद विस्तार भए माओवादी फुट्ने र समाजवादी पार्टी समाप्त हुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यस्तो ठोकुवा गर्नुभएको हो ।
उहाँले माओवादीभित्र सबै सांसद् मन्त्री हुने लडाईँमा लागेको र मन्त्री बन्ने लोभले समाजवादीमा गएका मन्त्री बन्न लाइनमा बसेको बताउनु भयो । ‘मन्त्रिमण्डल विस्तार भयो भने माओवादी फुट्छ, समाजवादीमा गएकाहरु एमालेमा फर्कन्छन्’, बस्नेतले भन्नुभयो । उहाँले एमालेबाट नेकपा समाजवादीमा लोभी पापी मात्रै लागेका बताउनुभयो । कोही ऋण तिर्न र कोही मन्त्री बन्न समाजवादीमा लागेको उहाँको भनाइ छ ।
अदालतले जस्केलाबाट बनाएको सरकारलाई एमालेले आउने निर्वाचनमा मूलढोकाबाट निकाल्ने जनाउ पनि उहाँले दिनुभयो । उहाँले प्रचण्डको चरम अवसरवादी र अस्थिर चरित्रको कारण नेकपा विभाजित भएको तथ्य पनि राख्नुभयो । आगामी महाधिवेशनमा माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई आउने निर्वाचनपछि प्रधानमन्त्री बनाउने योजनाका साथ केपी ओली अघि बढेको अवस्थामा प्रचण्ड र माधव नेपाल मिलेर पार्टी फुटाएको तथ्य राख्नुभएको हो ।
नेकपा बिभाजनका लागि कांग्रेसले मलजल गरेको र प्रचण्ड माधव त्यही लोभमा फसेकोबस्नेतको भनाइ छ । ‘माधव नेपाल र प्रचण्डको कमजोर धातुलाई कांग्रेसले जलप लगलाउने काम गर्यो’, बस्नेतले भन्नुभयो । सर्वोच्च अदालतले दलित ह्विप नलाग्ने र अदालतबाट नै प्रधानमन्त्री तोक्ने संसारमा नै नभएको काइते फैसला गरेको उहाँले बताउनुभयो । अदालते संविधानको व्याख्या गर्नु पर्नेमा अपव्याख्या गरेको उहाँको भनाइ छ ।
सदन भित्र भइरहेको गतिविधि एमालेको इच्छाले नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । सभामुख र गठबन्धनको कारण असहज अवस्था सिर्जना भएको बस्नेतले बताउनुभयो । ‘सभामुखको भूमिका निष्पक्ष भएन, के एमालेलाई लगाउने कानुन र अरुलाई लगाउने कानु छुट्टै छ ?’ बसनेतको प्रश्न थियो ।













प्रतिक्रिया दिनुहोस्