२६ भाद्र २०७८, शनिबार ००:००

जेठ २ मा फर्कियो ओखलढुंगा एमाले, १० बुँदे कार्यान्वयन गर्न अध्यक्षकै नेतृत्वमा कमिटी


ओखलढुंगा, भदौ २६ । नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात गरिएको छ ।

एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारका अनुसार केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा यो प्रयाश अघि बढाइएको हो । यद्यपी जिल्ला कमिटी बैठकका बहुमत सदस्यमात्र उपस्थित भएका छन । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु बैठकमा उपस्थित नभएको समाचार एजेन्सी न्यूज कारखानाले जनाएको छ । एमालेको माधव समूहका सचिव र संस्थापन समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी नभएका हुन ।

माधव समूहमा रहेका सचिव हर्कबोल राई र संस्थापन समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित हुनुभएको छ । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा असहमति रहेको पाइएको हो ।

राई जस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरु बैठकमा अनुपस्थित भएका छन । एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँनु भयो । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उहाँको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उहाँले बताउनु भयो ।

जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ ।