काठमाडौं, भदौ २८ । ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ५७ औं राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदद्वारा आइतबार राजधानीमा ‘राष्ट्रिय बाल अधिकार दिवस’ को सन्दर्भमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडाले बालबालिकामा गरेको लगानीले महिला हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विकास, निर्माणको काम विशेष गरी सडक तथा भौतिक निर्माणमा मात्र बजेट छुट्याउने र महिला र बालबालिकाका लागि बजेट खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको हक, हित, अधिकार र संरक्षणको पाटोबाट भएका कामबारे चर्चा गर्दै परिषद्ले बालबालिकालाई कोभिड–१९ बाट बनाइएको प्रचार सामग्रीको पहुँच दुई लाख ६० हजारमा पुगेको बताउनुभयो । यस्तै ४५७ वटा बालगृहमा रहेका एघार हजार ३३२ जना बालबालिकाको अवस्थाको अनुगमनसहित आवश्यक सहयोग लागि परिषद्ले समन्वय गरेको उहाँले सुनाउनुभयो ।
कोभिड–१९ को कारण अभिभावक विहिन भएका ३० वटा स्थानिय तहबाट दुई सय दुई जना बालबालिकाको संरक्षण प्रक्रिया सुरू भएको निर्देशक धरेलले बताउनुभयो । स्थानिय तहमा बालबालिका सम्वन्धी ऐनको कार्यान्वयनको लागि जिल्लास्तरीय अनुशिक्षण, कोरोना महामारीमा भर्चुअल माध्यमबाट पनि छलफल जारी रहेको उहाँको भनाई छ ।

त्यसैगरी दिवसको सन्दर्भमा बाल अधिकारसम्वन्धी भिडियो प्रतियोगिताको आयोजना गरिएको छ । उत्कृष्ट भिडियोमध्ये प्रथम हुनेलाई २५ हजार रूपियाँ, द्वितियका लागि २० हजार रूपियाँ र तृतीय भिडियोलाई १५ हजार रूपियाँ प्रदान गरिने जानकारी दिएको छ । परिषद्ले नेपाल रग्वी एसोशियसनसँगको समन्वयमा सडकबाट उद्धार गरिएका ४० जना बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रममा सुरूवात गर्ने निर्देशक धरेलले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्