जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १३:२२

हत्या अभियोगमा जेल सजाय भोगेका विक लुम्बिनीका मुख्यमन्त्रीको स्वकीय


रूपन्देही, भदौ २८ । एमालेनिकट युवासंघका नेता प्रचण्ड थैवको हत्या अभियोगमा जेल सजाय भोगेका सुजित विकलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख स्वकीय सचिव बनाएपछि थैवको परिवारले आपत्ति जनाएको छ ।स्वर्गीय थैवकी आमा सुकन्या थैवले ‘आफ्नो छोराका हत्यारा’लाई लुम्बिनीका मुख्यमन्त्री केसीले राज्यको सेवासुविधा दिने गरी नियुक्ति दिँदा परिवारमा पीडा थपिएको बताउनुभयो । स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु लज्जाको विषय बताउनुभयो ।

थैवकी दिदी सुष्मा श्रेष्ठले अपराध गरेर राज्यको सम्पत्तिमा हालीमुहाली गर्नेगरी मुख्यमन्त्रीले नियुक्ति गर्नु पीडित परिवारलाई मात्रै नभएर बुटवलवासीलाई चुनौती भएको बताउनुभयो । तत्कालीन जनमुक्ति सेनाका लडाकु विक नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) रुपन्देहीका पूर्वअध्यक्ष हुनुहुन्छ। तनहुँको खैरेनीटारका स्थायी बासिन्दा खरेन्द्र विक सशस्त्र युद्वको समयमा सुजित विकको नामले परिचित हुनुहु्न्थ्यो । सुजितको श्रीमती दीपा विक लुम्बिनी प्रदेशसभा सदस्य हुन्।माओवादीले भने कैद मिनाहा भइसकेकाले नियुक्ति स्वभाविक भएको प्रतिक्रिया दिएको छ । मानवअधिकारवादी तथा वकिलहरूले सुजित कानुनी हिसाबले अयोग्य नभएपनि नैतिकताको हिसाबले महत्त्वपूर्ण जिम्मेवारीमा बस्नु उचित नहुने प्रतिक्रिया दिएका छन् । विकले वाईसियल रुपन्देही अध्यक्ष भएका बेला २०६५ सालमा एमाले कार्यकर्ता थैवको हत्या अभियोगमा जेल सजाय भुत्तान गरि कही महिनाअघि विक रिहा हुनुभएको छ ।