जनता टाइम्स

५ असार २०७६, बिहीबार १२:३८

देउवालाई यज्ञराज सुनुवारको कडा प्रश्न : पुल नबनाउने कांग्रेसबाट निर्वाचित मेयर ठेकेदारलाई किन संरक्षण ?


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञबहादुर सुनुवारले ६ वर्षसम्म पुल नबनाउने ठेकदारलाई कारवाहीका लागि सरकार र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग हारगुहार गर्नुभएको छ । ठेक्का पाएको ६ वर्षसम्म पनि काम पूरा नगरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भीमप्रसाद साउँदलाई कारवाही गर्न हारगुहार गर्नुभएको हो ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा बोल्दै उाले काम नगर्ने ठेकेदारविरुद्ध प्रमुख प्रतिदल कांग्रेसका नेता शेरबहादुर देउवासँग हारगुहार माग्नुभयो । ‘ओखलढुंगा मोलुखोलाको मान्द्रे दोभानमा ४ करोडको लागतमा बन्न लागेको पुल ६ वर्षसम्म नबन्दा त्यहाँका जनताले ठूलो सास्ती व्यहोर्नुपरेको छ । पुल नबनाउने ठेकेदार नेपाली कांग्रेसका नेता डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमप्रसाद साउँद प्रमुख ठेकेदार भएको बुझियो,’ सांसद सुनुवारले भन्नुभयो, ‘सरकारसँग र मुलत प्रमुख प्रतिपक्षी दलका नेतासँग हारगुहार माग्दछु ।’

सांसद सुनुवारले संसदको रोस्टममा उपस्थित भएर प्रधानमन्त्रीलाई बोल्न नदिइएको उदाहरण विश्वको कुन मुलुकमा छ भनेर प्रष्ट पार्न प्रतिपक्षी दलका नेतालाई चुनौती समेत दिनुभयो । उहाले भन्नुभयो,‘यो सदन प्रतिपक्षीको हो, संसारभरी यही चलन छ भनेर भनिएको सुनियो, कुन लोकतान्त्रिक देशको सम्माननीय प्रधानमन्त्री रोष्टममा बोल्न उभिदा रोकिएको वा बोल्न नदिएर अवरोध गरेको इतिहास छ । कुन देशमा यस्तो भएको एउटामात्र देशको नाम बताईदिन प्रतिपक्षसँग आग्रह गर्दछु ।