जनता टाइम्स

३० भाद्र २०७८, बुधबार २२:३४

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट


काठमाडौं, ३० भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताउनुभयो । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरुसँग छलफल गरी अघि बढ्ने उहाँको भनाइ थियो ।

छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिनुभएको थियो । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका बन्ने जिकिर गर्नुभयो ।