जनता टाइम्स

५ असार २०७६, बिहीबार १५:४५

पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्सको साथ


काठमाडौं, असार ५

नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् । खेलकूद क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उक्त अवार्डका लागि घोराही इन्डष्ट्री प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका हुन् ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य साङ्घाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसंँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतानुसार सगरमाथा सिमेन्टले अवार्डका लागि रु पाँच लाख उपलब्ध गराउने छ । त्यस्तै अर्को सम्झौतामा टर्किस एयरलाइन्सले वर्षको पुरुष र महिला विजेता खेलाडीलाई टर्किस एयरलाइन्सको सेवा भएको कुनै पनि गन्तव्यको रु पाँच लाख बराबरको दुई थान दुईतर्फी हवाई टिकट उपलब्ध गराउनेछ ।

त्यस्तै एयरलाइन्सले खेलकूद पत्रकार मञ्चका सदस्यलाई हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ । मञ्चले सिफारिश गरेको राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ । सम्झौता एक वर्षको छ । यही असार १७ गते हुने उक्त अवार्डबाट १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गरिनेछ जसमा पिपुल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

त्यस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन छिट्टै सार्वजनिक गरिने आयोजक मञ्चले जनाएको छ । स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्ड भने अवार्ड कार्यक्रमकै दिन घोषणा हुनेछ ।