जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार २०:०५

असोज १ देखि विद्यालय खोल्ने निर्णयबाट पछि हट्यो काठमाडौं जिल्ला प्रशासन


काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो । निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको थियो ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने आदेश जार्नुभएको हो । गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।

‘महानगरपालिका तथा नगरपालिकाले विद्यालय संचालन गर्नुपूर्व आआफ्नो पालिकास्तरमा कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही संचालन गर्न सकिनेछु,’ आदेशमा भनिएको छ ।

आदेशमा कोभिड १९ को संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, जात्रा महोत्सव नगर्न, स्वास्थ्य प्रोटोकल पालना गरेर चाडपर्व मनाउन भनिएको छ ।