काठमाडौं, असोज १ । नागरिक समाजका नेता डा. सुन्दरमणि दीक्षितले मुलुकमा सरकारै नभएको टिप्पणी गर्नुभएको छ। मुलुक बजेटविहीन भएको, संसद् नचलेको, मन्त्रिपरिषद् विस्तार हुन नसकेको अनि जताततै डामाडोल र अन्योल भएको अवस्थामा कसरी मुलुकमा सरकार छ भन्ने ? उहाँको प्रश्न छ ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, ‘६६ दिनसम्म मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । ५ चोटि प्रधानमन्त्री भएका शेरबहादुर देउवा निरीह प्राणी भएर बसिरहनुभएको छ । पद लिने बेलामा पद खुसुक्क लिने अनि अरुले मलाई काम गर्न दिएनन् भन्न मिल्छ ? नचाहिने अध्यादेश ल्याएर संसद् अवरुद्ध भएको छ । देउवाले सधैँभरि माधव नेपालको मोह गरेर हुन्छ ? माधव नेपालको भागको मन्त्रालय बाँकी राखेर अरु दलको सरकार बनाउन उहाँलाई कसले रोकेको छ ? कांग्रेस, जसपा, माओवादीको बनाए भइहाल्थ्यो नि ।” गल्तीमाथि गल्ती गरेर दलहरु आफ्नै दलदलमा फसिरहेको र त्यसको भागिदार देश हुन पुगेको डा. दीक्षितको आरोप छ । उहाँले थप्नुभयो, “दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र गर्ने माधव नेपाल नै दोषी छन् । उनले नचाहिने काम गराइदिए । लोकतन्त्रलाई कमजोर र अस्थिर गराए । अब पार्टी फुट्ने डरले मन्त्री बनाउन खुट्टा कमाइरहेका छन् ।”
साथै उहाँले एमालेका १४ सांसदलाई कारबाही गरेको सूचना नटाँस्नु अग्नि सापकोटाको बेइमानी भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो , “अग्नि सापकोटाले माधव नेपाल या प्रचण्डले भनेको मान्नु पर्दैनथ्यो । एमाले फुटाउनका लागि उहाँले गरेको धुर्तता र बेइमानी अक्षम्य छ । अब एमाले सभामुखसँग झुक्ने होइन, उनी एमालेसँग झुक्नुपर्छ । एमालेले लचक हुँदैन भने सापकोटा मुलुकका लागि झुक्नुपर्यो । उनकै कारण बजेट होलिडे भयो । मुलुक कोषविहीन भयो । खोप ल्याउन विलम्ब हुने भयो । हुन त एमालेका सांसदको व्यवहार पनि अशोभनीय छ । तर मूलतः माधव नेपाल, प्रचण्ड, अग्नि सापकोटाहरु दोषी हुन् ।”













प्रतिक्रिया दिनुहोस्